काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गरेका छन् । आज मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाइएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् ।
उनले सरकारले बजेट पछिल्ला आर्थिक सङ्कुचनले स्रोतमा पारेको सङ्कुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारेका छन् ।
बजेट ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६औं योजनाले परिलक्षित गरेका उद्देश्यहरू समेत क्रमशः पूरा हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पुनले बैंकहरूमा तरलताको रूपमा ५ खर्ब बढी रकम बैंकहरूमा रहेको बताए ।
प्रतिक्रिया