काठमाडौँ - चालू आर्थिक वर्ष २०८०\८१ को १० महिनाको अवधिमा नेपालबाट ११ करोड २६ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको छ । यस अवधिमा नेपालबाट ९ हजार ८०० वटा मोबाइल निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा हो ।
गत आर्थिक वर्षको यही अवधिमा १२ करोड १४ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको थियो । गत वर्षको तुलनामा चालू वर्षको १० महिनामा स्मार्टफोनको निर्यात घटेको देखिन्छ । तथ्यांकअनुसार यस अवधिमा ८८ लाख रुपैयाँले स्मार्टफोनको आयात घटेको हो ।नेपालबाट विश्वका ७ वटा देशमा मोबाइल निर्यात भएको छ । १० महिनाको अवधिमा अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, इन्डिया र इटालीमा निर्यात भएको छ । सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा ११ करोड २३ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको छ ।
यसबाहेक अन्य मुलुकमा न्यून मात्रामा स्मार्टफोन जान्छ । गत आर्थिक वर्षको १० महिनाको अवधिमा भने भुटान, श्रीलंका र युनाइटेड अरब इमिरेट्समा स्मार्टफोन निर्यात भएको थियो । जसमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा नै निर्यात भएको थियो । गत वर्षको तुलनामा निर्यात हुने मुलुकको सूची बढे पनि मूल्य भने घटेको हो। तर स्मार्टफोनको व्यापारमा नेपाल अर्बौ रुपैयाँले घाटामा छ । चालू वर्षको यो अवधिमा २४ अर्ब १ करोड २४ लाख रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ । यसअनुसार २३ अर्ब ९४ करोड रुपैयाँले नेपाल घाटामा छ ।
प्रतिक्रिया