काठमाडौँ - नेपालले ३० औं दिगो विकास अनुसन्धान सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता गर्ने अवसर पाएको छ । सन् १९९४ बाट प्रारम्भ भएको यो अन्तर्राष्ट्रिय जमघट विश्वका सबै महादेशहरुमा गरि १४ मुलुकहरुमा सम्पन्न भईसकेको छ ।
सम्मेलनमा प्रकृति साथै समाज विज्ञानका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय वैज्ञानिकहरु, अग्रणी अनुसन्धानकर्मि, अभ्यासकर्ता र नीति निर्माताहरुको सहभागिता रहने छ । सम्मेलनको मूल उद्देश्य सन्तुलित वातावरणको दिगोपना, मानव विकास र प्रकृति तथा मानवबीचको अन्योन्याश्रित सम्वन्धबारे भए गरेका अध्ययन अन्नुसन्धानबाट निसृत पछिल्लो ज्ञान, सिकाई र अनुभवको आदान प्रदान एवं सहकार्यका निम्ति संजाल बिस्तार गर्ने मञ्च उपलब्ध गराउनु हो ।
सम्मेलन यहि जुन १० देखि १४ (जेष्ठ २८ देखि ३२) सम्म काठमाडौंमा आयोजना हुन गईरहेको छ। सम्मेलनमा करिव ५० देशका झण्डै ३०० प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र नीति निर्माता लगायतको सहभागिता रहने छ । सम्मेलनमा ३२ वटा समूहमा अनुसन्धानपत्रहरु प्रस्तुत हुनेछन् । सम्मेलनपछि काठमाडौं घोषणापत्र जारी गरिनेछ। सम्मेलनको सहजिकरणको भूमिका मध्य-पश्चिम विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालयले गरेका छन् ।
यसमा मोफसलका पाँच विश्वविद्यालयहरु पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मधेष विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र सुदूर पश्चिम विश्वविद्यालयको सहकार्य रहेको छ। सम्मेलनको सचिवालयको कार्य रिसोर्सेस हिमालय फाउन्डेशनले गरिरहेको छ। यस बर्ष सम्मेलनको नारा पर्वत र सागरको भविष्य समान, दिगो जीविकाको मार्ग पहिचान रहेको छ। सम्मेलनले अन्तराष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि गर्ने र सकारात्मक सन्देश पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया