चिनियाँ मन्त्री रुइफेङले गरे लुम्बिनी भ्रमण

विहीबार, ३१ जेठ २०८१, १६ : २०

काठमाडौँ - चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । 

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवं नेपाल-चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेङले बताए । मन्त्री रुइफेङ मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्तिदीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।

भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि तत्काल पहल गर्न आग्रह गरे । उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे । यस्तै, चीनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरू लुम्बिनीमा चिनियाँ तीर्थयात्रुलाई स्वागत गर्न सधैँ आतुर रहेको बताए । 

विहीबार, ३१ जेठ २०८१, १६ : २०

प्रतिक्रिया