काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गरेको छ ।
प्राधिकरणअन्तर्गत अनुमति व्यवस्थापन शाखाले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयावधिभित्र अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्ने कम्पनीको लाइसेन्स रद्द भएको जनाएको छ । प्राधिकरणका अनुसार मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि कम्पनीको लाइसेन्स खारेज भएको छ ।
'सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकाले निज सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको छ,' सूचनामा लेखिएको छ ।साथै प्राधिकरणले ती सेवा प्रदायकले बुझाउन बाँकी रकम पनि ३० दिनभित्र जम्मा गरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
प्रतिक्रिया