काठमाडौँ - मुस्ताङ लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।
किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था गरिएको छ । च्याङग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको भूवा गुणस्तरीय मानिन्छ । प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन हुने पश्मिनाको माग विश्व बजारमै बढ्दो छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक एक सय ९५ टन पश्मिना बनाउन आवश्यक भूवाको धागो आयात गरिन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भूवा खरिद गर्न थालिएको हो ।
प्रतिक्रिया