गत वर्षभन्दा यस वर्ष मधेसको आर्थिक वृद्धिदर बढ्ने संकेत

सोमबार, ०३ असार २०८१, १६ : ४२

काठमाडौँ-  मधेसका अर्थमन्त्री भरतप्रसाद साहले गत वर्षभन्दा यस वर्ष मधेसको आर्थिक वृद्धिदर बढ्ने तथ्यांक प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको वृद्धिदर क्रमशः ५.४७ प्रतिशत, ०.१४ प्रतिशत र ६.९७ प्रतिशत रहने अनुमान गरिएको छ । 

गत वर्ष २०७९र८० मा २.१६ आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको थियो । सोही अबधिमा समग्र देशको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान छ । देशको चालु आव २०८०र८१ मा प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब ८४ करोड रुपैयाँ छ । चालु आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १,४५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने मधेसको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ७ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने छ । मधेस प्रदेशको योगदान नेपालको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) १३.१२ प्रतिशत हुने अनुमान रहेको छ भने मधेसको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर उत्पादक मूल्यमा ३.७८ प्रतिशत रहने अनुमान छ । मधेसको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान सबैभन्दा धेरै ३५.१९ प्रतिशत रहने अनुमान छ भने यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ३.८० प्रतिशत रहने अनुमान छ ।


सार्वजनिक वित्तआव २०७९र८० मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा मधेसको खर्च र राजस्वको अनुपात क्रमशः ३.८२ र १.९० प्रतिशत रहेको छ । चालु आवमा बजेटको आकार आव २०७९र८० को भन्दा ५.९० प्रतिशतले कम थियो । आव २०८०र८१ को फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च रकम गत आर्थिक वर्ष अबधिको तुलनामा ३५.३४ प्रतिशतले कमी भई ५ अर्ब ११ करोड रुपैयाँ छ । चालु आवको फागुन मसान्तसम्ममा चालु खर्चतर्फ रु. ३ अर्ब १० करोड रुपैयाँ खर्चमा कुल खर्चको ३९.२१ प्रतिशत चालु खर्च र ६०.७९ प्रतिशत पुँजीगत खर्च भएको छ ।

चालु आव ०८०/८१ को सरकारको बजेटमा समावेश भएको आय अनुमान ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म वार्षिक अनुमानको तुलनामा ५३.३८ प्रतिशत अर्थात् जम्मा २३ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ आय (आन्तरिक, बाँडफाँट र नगद मौज्दात) प्राप्त भएको छ । घर जग्गा रजिस्ट्रेसनतर्फ आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म ८३ करोड ४४ लाख रुपैयाँ संकलन भएको छ, जुन कुल वार्षिक अनुमानको ४८.५६ प्रतिशत हो ।

चालु आवमा आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट (नगद मौज्दात अनुदानबाहेक) जम्मा १७ अर्ब ७६ करोड रुपैयाँ संकलन हुने अनुमान अनुरूप चालु आवको फागुन मसान्तसम्म उक्त स्रोतहरूबाट कुल ९ अर्ब १८ करोड ६२ लाख ४० हजार रुपैयाँ छ । लक्ष्यको तुलनामा ९ अर्ब १८ करोड ६२ लाख ४० हजार रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा ५१.७२ प्रतिशत राजस्व प्राप्त भएको छ ।

वित्तीय क्षेत्र २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा मधेसमा १७ सय ७८ छ । गत वर्षको तुलनामा चालु आवको समीक्षा अवधिसम्म प्रदेशभित्र बैंक तया वित्तीय संस्थाको थप ७ नयाँ शाखा सञ्चालन भएको छ । २०८० फागुन मसान्तसम्म मधेसको जिल्लाहरूमध्ये क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा धनुषा जिल्लामा सबैभन्दा बढी १ सय ७ वटा र सबैभन्दा कम सप्तरी जिल्लामा ६५ वटा छ ।

मधेसमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले २०८० पुस मसान्तसम्म निक्षेपकर्ताबाट चल्ती, बचत र मुद्दतीलगायतका अन्य खातामा कुल ३ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको समीक्षा अवधिसम्म करिब १९ प्रतिशतले निक्षेप परिचालनमा वृद्धि भएको छ । 

नवनियुक्त अर्थमन्त्री साहले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा मधेस प्रदेशका लघुवित्त संस्थाहरूबाट चालु आवको चैत्र मसान्तसम्म कुल लगानीको करिब ५५ प्रतिशत कृषि क्षेत्र, साना तथा घरेलु उद्योगमा १० प्रतिशत लगानी भएको छ । 

सोमबार, ०३ असार २०८१, १६ : ४२

प्रतिक्रिया