काठमाडौँ- मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका ३ र ७ जोड्ने चनौटेस्थित जोखिममा परेको बेलिब्रिज जोगाउन अहिले स्थानिय तह र स्थानियले उल्लेख्य प्रयास गरेका छन् ।
बाढीले बेलिब्रिजको फाउन्डेसन रहेको भूभाग कटान गर्न थालेपछि पुल जोखिममा परेको हो । पुल बगाउने जोखिम बढेपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकै नेतृत्वमा पुल जोगाउने प्रयास भइरहेको छ । पालिकाले स्काभेटरको प्रयोग गरि ठुलाठुला ढुङ्गा राखेर नदिको कटान रोक्ने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
हेलम्बुकै लाइफलाइनको रुपमा रहेको सो पुल जसरीभएपनि जोगाउन पर्ने अध्यक्ष शेर्पाले बताए । सो पुलले हेलम्बुको वडा नं ४,५,६ र ७ लाई गाउँ पालिकाको केन्द्रसँग जोड्दछ भने हेलम्बु १,२ र ३ सहित मेलम्ची नगरपालिका वडा ७ र ८ एवम् पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा न १ र २ का स्थानीयलाई राष्ट्रिय राजमार्गसँग जोड्दछ ।
सो स्थानमा २०७८ असार १ गतेको लेदोसहित आएको मेलम्ची बाढीले क्षति पुर्याएको रातोपुल, त्यहि बर्षको साउन १७ गते बगाएको थियो । रातो पुल बगाएपछि सोही स्थानमा नेपाली सेना सहितको सहयोगमा बेलिब्रिज निर्माण भएको थियो
रातो पुल बगाएको झण्डै सात महिनासम्म सास्ति खेपेका हेलम्बुबासी बल्लतल्ल निर्माण भएको बेलिब्रिज पनि बाढीले बगाउला भन्ने चिन्तामा छन् । गाउँपालिका अध्यक्ष शेर्पासँगै नेपाली सेना इन्द्र ध्वज गण मेलम्चीका प्रमुख मेजर मधुकुमार अधिकारी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, वडा अध्यक्ष, लगायत स्थानिय र चनौटे बिपत ब्यबस्थापन समितिको संयुक्त प्रयासमा पुल संरक्षणको काम भइरहेको सिडिइसिएफ्मा रहेर विपद्कै क्षेत्रमा काम गरिरहनु भएका प्रल्हाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोदेखिनै पुल जोगाउने प्रयास भइरहेपनि हिजो हालेको ढुंगा बाढीले बगाएपछि अहिले फेरी पुल जोगाउनका लागि काम भइरहेको हो ।
प्रतिक्रिया