काठमाडौँ – चिनियाँ विद्युतीय सवारी बिवाडीमाथि कर छलीको गरेको आरोप लाग्दै आएको छ । सोही आशंकामा राजस्व अनुसन्धान विभागले वीवाईडी आयातकर्ता साइमेक्स इंकमा छापा मारेर कागजात समेत लिइसकेको छ ।
सरकारले विद्युतीय सवारी साधनलाई बजेटमार्फत नै व्यापक कर छुट सुविधा दिएकोले नै नेपालमा विद्युतीय गाडीको आयात तीब्र रुपमा बढेको हो । तर व्यपारीहरुले कर छुट दिंदा पनि झन कर छल्न खोजेका प्रमाणहरु भेटाएपछि सरकार आयातकर्तासँग तर्किएको छ । यसरी छुट सुविधा दिँदा चालु आर्थिक वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको राजस्व गुमेको राजस्व स्रोतले बताएको छ । त्यसपछि नै सरकार आयातकर्तामाथि सशङ्कित बनेको हो ।
सरकारले चालु आर्थिक वर्षमा कार्बन उत्सर्जन घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउने नीतिसहित विद्युतीय सवारीको आयात प्रोत्साहन गरेको थियो ।
स्मरण रहोस् विद्युतीय गाडी आयातकर्ताहरु पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरेको व्याख्यालाई उल्ट्याउँदै त्यसपछिका अर्थमन्त्रीले निरन्तर विद्युतीय सवारीमा प्रोत्साहन नीति लिएकोले उत्साहित भएका हुन । । पूर्वमन्त्री खतिवडाले विद्युतीय सवारी साधनलाई ‘लक्जरी आइटम’मा राखेका थिए । उनका अनुसार विद्युतीय सवारी साधनको व्यावसायिक प्रचलनका लागि नेपालको पूर्वाधार तयार भइसकेको थिएन ।
खतिवडाको उक्त नीतिको व्यापक विरोध भएको थियो । जसको कारण त्यसयताका अर्थमन्त्री जनार्दन शर्मा, विष्णु पौडेल र डा। प्रकाशशरण महतले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने कर नीति लिएका थिए ।
कार्बन उत्सर्जन घटाउने र डिजेलातथा पेट्रोलको आयात घटाउने लक्ष्यसहित सरकारले लिएको नीतिलाई अपव्याख्या गर्दै व्यापारीले औंलो दिंदा डडेल्नो निल्ने नीति लिएपछि सरकार उनीहरुसँग तर्किएको हो ।
विद्युतीय गाडी आयातकर्ताहरुले १५० किलोवाट क्षमताको गाडीलाई १०० किलोवाटको भन्दै कर छली गर्न थालेपछि भन्सार विभागले जेठ २ गते रसुवा भन्सार, तातोपानी भन्सार र भन्सार जाँचपास कार्यालयलाई सम्बोधन गर्दै लेखेको पत्रले नै यसलाई पुष्टि गर्छ । रसुवा र तातोपानी भन्सारबाट चिनियाँ बाहेकका गाडी आयात हुँदैन । यी दुई कार्यालयलाई किटेर लेखिएको पत्रले चिनियाँ गाडी आयातकर्ताले कर छलेको निष्कर्षमा सरकार पुगेको देखिन्छ । सोहीकारण चिनियाँ आयातकर्ताले गाडी ल्याउने भन्सार कार्यालयमा जाँचपास कडाइ गर्न विभागले निर्देशनसहितको पत्र लेखेको थियो ।
विद्युतीय गाडीहरुमा तमाम खालका प्राविधिक त्रुटीहरु रहेको पनि प्रयोगकर्ताहरुले गुनासो गर्न थालेका छन् । नेपालको सन्दर्भमा यो गाडीको रिसेल भ्यालु पनि न्यून रहेको र पार्टसहरु पनि सर्वसुलभ नभएको प्रयोगकर्ताहरुको प्रतिक्रिया छ ।
प्रतिक्रिया