वर्षाका कारण एक महिनामा १०१ जनाको मृत्यु

शुक्रबार, २८ असार २०८१, १३ : ०२

काठमाडौँ - अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको छ । वर्षाकै कारण हालम्म एक सय आठ जना घाइते भएका तथा छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजनागरी छ जना रहेका छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शुक्रबार, २८ असार २०८१, १३ : ०२

प्रतिक्रिया