आजबाट नयाँ आर्थिक वर्ष सुरु, ८० प्रतिशत बजेट खर्च गरेर  सरकारले बुझायो चित्त

मंगलबार, ०१ साउन २०८१, ०६ : ०५

काठमाडाै-  आजबाट नयाँ आर्थिक वर्ष २०८१ \ ०८२ सुरु भएको छ । आर्थिक वर्ष २०८० \ २०८१ हिजो हिजो राती मध्यान्नबाट सकिएको छ ।  सरकारले आइतबारसम्ममा कुल बजेटमा ८०.४५ प्रतिशत मात्र खर्च गरेको छ ।

सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । जसमा सरकारले आइतबारसम्ममा १४ खर्ब ८ अर्ब रुपैयाँको खर्च गरेको छ । गत वर्ष संघीय सरकारले १४ खर्ब २९ अर्ब रुपैयाँको बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार सरकारले आर्थिक वर्षको मसान्तको दिन खर्च गर्न पाउँदैन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबार हिसाब मिलानको काम मात्रै हुन्छ ।

कुनै पनि प्रकारको भुक्तानी असार मसान्तमा नहुने व्यवस्था छ। यस आधारमा आइतबार मध्यरातसम्म भएको खर्च नै सरकारको चालू आर्थिक वर्षको खर्च हो। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा पछि रकमान्तर भएको तथा अनिवार्य दायित्व बाहेकका सबै प्रकारका भुक्तानी एक साता अघि गर्ने व्यवस्था छ।

सार्वजनिक ऋणको सावाँ ब्याज, पछिल्लो एक साताको अवधिमा रकमान्तर भई भएको बढी खर्चलगायतको भुक्तानी भने आर्थिक वर्ष सकिनुभन्दा एक दिन अगावैसम्म खर्च गर्न सकिने व्यवस्था छ। आइतबार मात्र सरकारले ११ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ ।अघिल्लो साता १३ खर्ब ९७ अर्ब रुपैयाँको खर्च भएको थियो ।

त्यस्तै यसवर्ष पनि सरकारले चालू खर्चतर्फ पनि प्रर्याप्त खर्च गर्न सकेको देखिन्न । यस वर्ष सरकारले चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ९ खर्ब ५२ अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको छ यो कुल खर्चको ८३.४३ प्रतिशत मात्र हो । सरकारले ३७ प्रतिशत पूँजीगत खर्च कम गरेको छ ।

त्यस्तै, पूँजीगततर्फ ६३.४७ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ८६।०७ प्रतिशत खर्च भएको छ।यो शिर्षकमा सरकारले चालू आवमा ३खर्ब ७ अर्ब रुपैयाँ छुट्याएकोमा २ खर्ब ६४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । 

 

मंगलबार, ०१ साउन २०८१, ०६ : ०५

प्रतिक्रिया