नबिल बैङ्क र एनसेलबीच सम्झौता

शुक्रबार, ११ साउन २०८१, १२ : २७

काठमाडौँ - नबिल बैङ्क र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । 

सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैङ्कको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैङ्कका एप प्रयोगकर्ताले पनि एनबैङ्क एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।नबिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नबिल बैङ्कका सिइओ ढुङ्गानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए । एनसेलका सिइओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए ।

अब एनसेलका ग्राहकले नबिलको पोस, पेमेन्ट गेटवे र एन बैङ्क गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् । नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो । बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 

शुक्रबार, ११ साउन २०८१, १२ : २७

प्रतिक्रिया