फिल्म मोदीबेनीका कलाकारद्वारा नौकाविहार र्‍याफ्टिङको शुभारम्भ

आइतबार, १३ साउन २०८१, १३ : ४६

काठमाडौँ - फिल्म ‘मोदीबेनी’का कलाकारले बागमती नदीमा नौकाविहार (र्‍याफ्टिङ) को शुभारम्भ गरेका छन् ।

फिल्मको प्रवर्द्धनमा सक्रिय अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता अमरप्रताप श्रेष्ठले डुङ्गा सयर समेत गरे । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत र्‍याफ्टिङ सुरु गरिएको हो ।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए । सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् । श्रेष्ठले अभियानलाई सबैले मिलेर सफल बनाउनुपर्ने र काठमाडौँमा नै र्‍याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुनसक्ने बताए ।

बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्‍याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्‍याफ्टिङ गर्ने गर्छन् । आइतबारदेखि थापाथलीदेखि चोभारसम्म सर्वसाधारणले पनि र्‍याफ्टिङ गर्न पाउनेछन् । यसका लागि निश्चित शुल्क तोकिएको छ ।

आइतबार, १३ साउन २०८१, १३ : ४६

प्रतिक्रिया