काठमाडौँ- बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए। उनका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई रु एक लाख २३ हजार आठ सय १० क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ।
यसैगरी, पशुधन क्षतिका एक सय ८१ घटनामा रु १८ लाख २५ हजार तीन सय र अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए। बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो। चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई रु चार लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा रु छ लाख ९६ हजार चार सय ५० र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा रु १२ लाख ४१ हजार दुई सय ५० क्षतिपूर्ति वितरण गरिएको थियो।
प्रतिक्रिया