काठमाडौँ - एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले वेबसाइट वा मोबाइल बैङ्किङ एपबाट प्यान अद्यावधिक गर्न आग्रह गरेको हो । आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
बैङ्कबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई९ टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैङ्कले जनाएको छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची९१० मा करकट्टीको विवरण मिलान गर्ने बताइएको छ । जसले गर्दा ग्राहक करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैङ्कसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैङ्कले लिएको छ ।
एनआईसी एशिया बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू.२६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू. २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया