गण्डकीका दूध किसानले पाए ३ करोड अनुदान

मंगलबार, १५ साउन २०८१, १२ : १४

काठमाडौँ - पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९\८० मा प्रदेशभरि २ लाख ६४ हजार मेट्रिक टन दूध उत्पादन भयो । त्यसअघिको वर्ष २ लाख ८२ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

लम्पी स्किन र विभिन्न रोगका कारण पछिल्लो वर्ष उत्पादन केही कम भयो । यद्यपि गत वर्ष २०८०\०८१ उत्पादन बढेर २ लाख ६६ हजार मेट्रिक टन पुगेको छ । अघिल्लो वर्ष ५६ हजार ९ सय मेट्रिक टन मासु उत्पादन भएकोमा अहिले बढेर ५७ हजार ८ सय मेट्रिक टन पुगेको छ । आव २०७८\७९ मा ६२ हजार २ सय मेट्रिक टन मासु उत्पादन भएको थियो । लम्पी स्किनका कारण २ वर्षअघि देशैभरि पशुजन्य उत्पादनमा ठुलो गिरावट आएको थियो ।

अहिले बिस्तारै पुरानै अवस्थामा फर्किने क्रम सुरु भएको छ । पछिल्ला वर्षहरूमा सरकारले किसानलाई विभिन्न माध्यमबाट सहुलियत दिइरहेको छ । अहिले उत्पादन बढ्नुमा मुख्य कारण उत्पादनका आधारमा दिइएको अनुदानलाई लिइएको छ । निर्देशनालयकी महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराई दूधमा दिइएको अनुदान निकै प्रभावकारी भएको बताउँछिन् । ‘उत्पादन सबै क्षेत्रमा बढेको छ । हुन त मासुमा इफेक्टिभ छैन । मासु सहकारीबाट बेच्ने चलन छैन,’ उनी भन्छिन्, ‘दूधमा अनुदान पनि राम्रै नै गयो, उत्पादन पनि राम्रै भयो । बर्सेनि २ प्रतिशतका दरले उत्पादन बनेको छ ।’ सरकारले गत वर्ष दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर साढे २ रुपैयाँका दरले ३ करोड ९ लाख अनुदान वितरण गरेको छ ।

१३ हजार ९ सय ६१ मेट्रिक टन दूधमा अनुदान दिइएको निर्देशनालयले जनाएको छ । यस्तै, १ सय १८ मेट्रिक टन खसी बोकालाई २३ लाख ७५ हजार अनुदान दिइएको छ । दूधमा ६ करोड ५५ लाख अनुदान दिने गरी बजेट विनियोजन भए पनि सरकारको नीति स्पष्ट नआएपछि आधा मात्रै खर्च भएको हो । ‘सुरुमा ५ रुपैयाँ दिने भन्ने थियो । तर त्यो निर्णय राजपत्रमा प्रकाशन भएन,’ सेढाईंले भनिन्, ‘अघिल्लो वर्ष प्रतिलिटर साढे २ रुपैयाँ थियो । त्यही कार्यान्वयन गर्दा आधा रकम खर्च भएन ।’ दूधमा ६४ वटा सहकारी र मासुमा ८ वटा सहकारीलाई अनुदान दिइएको हो । आगामी वर्ष दूधमा साढे ६ करोड अनुदान उपलब्ध गराउने लक्ष्य लिइएको कृषि मन्त्रालयले जनाएको छ ।

अनुदानका कार्यक्रमले साना भन्दा व्यावसायिक किसान बढेका छन् । ‘लोकल भन्दा क्रस पशु बढेको छ । यसको उत्पादन बढी हुन्छ । हामीले साना किसान भन्दा व्यवसायी किसान बढेको देखेका छौँ,’ उनले अघि भनिन्, ‘सरकारले चाहेको पनि त्यही हो । एउटा पशुले एउटा घरलाई धान्छ र बेच्नका लागि उत्पादन हुँदैन । कम्तीमा १०–१५ वटा गाईबस्तु पाल्दिनुस् भनेर सानै किसानलाई पनि आग्रह गरेका छौँ ।’ गण्डकी दूध, फूल र मासुमा आत्मनिर्भर छ । राष्ट्रिय उत्पादन दर भन्दा गण्डकीको दर उच्च छ । दूधको राष्ट्रिय उत्पादन २५ लाख मेट्रिक टन छ भने गण्डकीको करिब ११ प्रतिशत उत्पादन छ । मासु ५ लाख मेट्रिक टन उत्पादन राष्ट्रिय तथ्याङ्कमा भएकोमा गण्डकीमा मात्रै ११.५ प्रतिशत उत्पादन हुन्छ ।

अण्डा १ अर्ब ३० करोड गोटा उत्पादन भएकोमा गण्डकीमा २४ करोड अर्थात् १७ प्रतिशत उत्पादन हुन्छ । माछाको उत्पादन चाहिँ अन्यत्र भन्दा कम छ । राष्ट्रिय उत्पादन १ लाख मेट्रिक टन छ भने यहाँ १ हजार ४ सय मेट्रिक टन अर्थात् १.३ प्रतिशत मात्रै छ । गण्डकीका नागरिकलाई दूध प्रतिवर्ष प्रतिव्यक्ति १ सय ८ लिटर पुग्छ भने माछा मासु २३.४ किलो र अण्डा ९९ गोटा पुग्छ । जबकि राष्ट्रिय तथ्याङ्कमा प्रतिव्यक्ति ८८ लिटर मात्रै उपलब्धता छ भने माछा मासु १८ किलो र अण्डा ४६ गोटा छ । ‘दूध बाहिरबाट खासै आउँदैन ।

यहाँको दूध पनि अन्यत्र खासै जाँदैन,’ भट्टराईले अघि थपिन्, ‘धेरैजसो पोखरा, दमौली, नवलपुर लगायत ठाउँमा खपत हुन्छ । बाँकी दूध सुजल डेरीमा ल्याएर बेच्छन् ।’ खसी बोका भने अरू प्रदेशबाट पनि आयात हुन्छ । गण्डकीको उत्पादन अन्यत्र पनि विक्री हुन्छ ।

 

मंगलबार, १५ साउन २०८१, १२ : १४

प्रतिक्रिया