ग्लोबल आइएमई बैङ्क र गल्फ एक्सचेन्जबिच सम्झौता

विहीबार, १७ साउन २०८१, १८ : १६

काठमाडौँ - ग्लोबल आइएमई बैङ्क लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । 

साथै, यसै सम्झौता अनुसार कतारमा रहनुभएको नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैङ्कको तथा नेपालको अन्य बैङ्क तथा वित्तीय संस्थामा भएको बैङ्क खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नुहुनेछ । ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । बैङ्कका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

विहीबार, १७ साउन २०८१, १८ : १६

प्रतिक्रिया