सञ्चालनमा आयो पाँचतारे होटल हिल्टन

शुक्रबार, १८ साउन २०८१, १७ : ४४

काठमाडौँ - काठमाडौंको नक्सालमा पाँचतारे होटल "हिल्टन काठमाडौँ" सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल आजदेखि सञ्चालनमा आएको हो। 

उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौँ सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो। १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्। होटलमा रूफ टप बार, ब्यांकेट हल, स्पा, अल डे डाइनिङ रेस्टुरेन्ट र स्विमिङ पुल रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दुरीमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिने ब्राण्ड म्यानेजमेन्ट तथा हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेण्डर जयारिचले बताए।होटलबाट नारायणहिटी संग्रहालय र दरबारमार्ग पनि नजिकै रहेकाले काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच हुने उनको भनाइ छ। नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिका लागि विशेष अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा हिल्टन काठमाडौँको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए।शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन ब्राण्डसँग जोडिएर काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरूलाई स्वागत गर्न तत्पर रहेको बताए।

हिल्टन काठमाडौँमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध छन्। जसमा स्थानीय परिकारका स्वादहरूदेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रण छन्। भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरणहरू जडान गरिएको छ। हिल्टन काठमाडौँ एसिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टहरूसँग जोडिएको छ।

जसमा हालै सञ्चालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् भने सांघाई, हैदराबाद र कियोतोमा सञ्चालनको तयारीमा छन्। हिल्टन होटल्स एण्ड रिसोर्ट्सका बारेमा अन्य जानकारी स्टोरिज फ्रम हिल्टनबाट पढ्न सकिन्छ।

 

 

 

शुक्रबार, १८ साउन २०८१, १७ : ४४

प्रतिक्रिया