काठमाडाैं- नबिल बैंकले गएको आर्थिक वर्षमा सात अर्ब छ करोड रुपियाँ खुद नाफा कमाएको छ जुन समग्र बैंकिङ क्षेत्रमा उच्च हो ।
बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । बैंकले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले छ अर्ब ४० करोड रुपियाँ खुद नाफा कमाएको थियो।
नविलको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । तर इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेको हो । तर खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६।०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ । त्यस्तै, खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा झरेको छ ।
यससँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गएको आवमा नविलको यस्तो आम्दानी दुई रुपियाँ ४२ पैसा बढेर २६ रुपियाँ ९ पैसा पुगेको छ । गएको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपियाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०।०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ८५ करोड रुपियाँ रहेको छ। जगेडा कोषमा साढे ३२ अर्बभन्दा बढी रकम रहेको नविलको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपियाँ छ । बैंकको निक्षेप गत आवमा १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।
प्रतिक्रिया