बोलबमधाममा भारतीय पर्यटकको भिड

शुक्रबार, ३२ साउन २०८१, ०८ : ४०

काठमाडौँ- रुपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा भारतका विभिन्न सहरबाट आउने धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

प्रत्येक वर्ष साउनको सोमबार पर्रोहा बोलबमधामस्थित शिव ज्योतिर्लिङ्गमा जलार्पण गर्ने श्रद्धालु भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । पर्रोहा बोलबमधामका अध्यक्ष रामवली चौधरीले भारतका विभिन्न सहरबाट जलार्पण गर्न ठुलो सङ्ख्यामा धार्मिक पर्यटक आएको बताए । उनले बोलबमधाममा भारतको सिद्धार्थनगर जिल्लाबाट एकै दिन ८० वटा बसमा श्रद्धालु भक्तजन आएको र भक्तजनले दर्शन गर्नुका साथै जलार्पणमा सहभागी भएको बताए । भारतको सिद्धार्थनगरबाट आएका धार्मिक तीर्थयात्री विजय यादवले पर्रोहा बोलबमधाम क्षेत्र भारतमा समेत नाम चलेको बताए । आफूहरू साउन महिनामा जलार्पणका लागि आएको र बोलबमधाम क्षेत्र निकै पवित्र लागेको उनले बताए ।  

पश्चिम नेपालको एक मात्र पशुपतिनाथ भनेर नाम कमाएको पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबमधाममा विशेष गरी साउनको सोमबार श्रद्धालु भक्तजनको भिड हुने गर्दछ । पर्रोहा बोलबमधाम स्वयं उत्पत्ति भएको शिव ज्योतिर्लिङ्ग भएकाले पनि श्रद्धालु भक्तजनको आस्था प्रगाढ र बलियो बन्दै गएको धाम व्यवस्थापन समितिका अध्यक्ष चौधरीको भनाइ छ । सो धामका महासचिव प्रेमलाल भुसालले बोलबमधाममा जलार्पण नगरी साउन महिनामा गरेको तीर्थयात्रा पूर्ण हुँदैन भन्ने श्रद्धालु भक्तजनमा विश्वास बढ्दै गएको बताउनुभयो । भारतबाट आएकी श्यामा चौहानले पर्रोहा बोलबमधामको महिमा सुनेकाले आफूहरू जलार्पण गर्न आएको बताए ।

बोलबमधाममा आउने श्रद्धालु भक्तजनका अनुसार साउन महिनाको सोमबार विशेष भिड हुने भए पनि शनिबार, आइतबार, सोमबार र मङ्गलबार पनि उत्तिकै भक्तजन आउने गरेका छन् । यो वर्ष तिथिको हिसाबले जनैपूर्णिमासम्म जलार्पण गर्ने कार्यक्रम रहेको धाम व्यवस्थापन समितिले जनाएको छ ।   

शुक्रबार, ३२ साउन २०८१, ०८ : ४०

प्रतिक्रिया