काठमाडाैं- यो साता पाँच दिन कारोबार भएको छ । यो साता नेप्से परिसूचक २३४.४३ अंक बढेर ३ हजार दशमलव ८१ विन्दुमा बन्द भएको छ । अघिल्लो साता भने बजार २ हजार ७६६.३८ को विन्दुमा बन्द भएको थियो ।
यो साता परिसूचकले ३ हजार ३६.६४ सम्म उच्च र २ हजार ७७९.२४ न्युन विन्दुसम्म गएर २ हजार ५७.४० अंकको अस्थिरता देखाएको छ । अघिल्लो साता सूचकांकले १ हजार ८५.०३ अंकको अस्थिरता देखाएको थियो ।
यो साता पाँच दिन पूरा कारोबार भएको छ ।पाँच कारोबारमा बजार चार दिन बढ्यो भने एक दिनमात्रै घटेको छ ।अघिल्लो साता भने चार दिन मात्र कारोबार भएको थियो ।अघिल्लो साताको मंगलबार १४५ अंकको ठूलो करेक्सन आएको थियो । यो साताको मंगलबार ८.१८ अंकको करेक्सन आएको छ ।
५ दिनमा १ खर्बको कारोबार
यो साता पाँच दिन भएको कारोबारमा उच्च कारोबार भएको छ । हालसम्म नयाँ रेकर्ड बनेको यो साता पाँच दिनमा १ खर्ब २७ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता यस्तो कारोबार ८३ अर्ब ६० करोड रुपैयाँको थियो ।
अघिल्लो साता औसत कारोबार २० अर्ब ९० करोड रुपैयाँ थियो भने यो साता २५ अर्ब ५८ करोड रुपैयाँको औसत कारोबार भएको छ ।
बजार पूँजीकरण पनि बढ्यो
यो साता लगानीकर्ताको सम्पती ३ खर्ब ९३ अर्ब रुपैयाँले बढेको छ । हाल धितोपत्रको बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता भने यो ४३ खर्ब ७२ अर्ब थियो ।
१३ वटा समूहमध्ये फाइनान्स उपसमूह अब्बल
नेप्सेमा सूचीकृत १३ वटा समूहको सूचकमध्ये यो साता फाइनान्स उपसमूहको सूचक अब्बल देखिएको छ । फाइनान्स समूह अघिल्लो साताको तुलनामा १५ प्रतिशतले बढेको छ ।
यो साता सबै सूचकको नाफा उच्च रह्यो भने उत्पादनमूलक समूहको सूचक भने घटेको छ । उक्त उपसमूहको सूचक १.९७ प्रतिशतले घटेको छ । त्यस्तै वाणिज्य बैंक उपसमूहको सूचक १३.७५प्रतिशतले बढेको छ । जीवन बीमा उपसमूहको १०.३२ प्रतिशत र जलविद्युत उपसमूहको सूचक १० प्रतिशतले बढेको छ ।
सर्वाधिक नाफा कमाउने कम्पनीमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी छ । उक्त कम्पनीको शेयरमूल्य एक सातामै ४३.४५ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रो पावर कम्पनीको ३८.१२ प्रतिशतले शेयरमूल्य बढेर यो साता सर्वाधिक नाफा कमाउने कम्पनी बनेका छन् ।
सर्वाधिक घट्ने कम्पनीमा कुथेलीबुखरी स्मल हाइड्रो पावर कम्पनी छ । उक्त कम्पनीको शेयरमूल्य २१८ प्रतिशतले घटेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य १०.६५ प्रतिशतले यो साता सर्वाधिक घटेको छ । साताको बजार समीक्षा गर्ने क्रममा लगानीकर्ता छोटेलाल रौनियारले लामो समयसम्म बजार घट्दा निराश अवस्थाका लगानीकर्ताहरु सकारात्मक माहोलका कारण उत्साहित भएकोले खरिदबिक्री बढ्दै गएको बताउँछन् ।
सेयर धितो कर्जाको क्याप खुला गरिएकाले संस्थागत लगानीकर्ताको राम्रोसँग प्रवेश हुन पाएको छ । यस्तै, सूचीकृत कम्पनीहरुले पनि औसतमा नाफा वृद्धि गरेका छन् । अब लाभांशको सिजन पनि सुरु हुँदैछ । अहिले सेयरधनी बन्नेले अब छोटो समयमै लाभांशको हकदार बन्न सक्नेछ । यसकारण पनि बजारमा सहभागीको थप चहलपहल बढेको हो ।
यतिबेला, लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । समग्र अर्थतन्त्रले अझै पनि अपेक्षा अनुसार गति लिइसकेको छैन । यसर्थ, पनि अहिले पुँजी बजारमा साना–ठूला सबैथरिका लगानीकर्ता आकर्षित भएको पाइन्छ । बढ्दो बजारमा तत्काल नाफा बुक गर्न सकिने भएकाले पनि आकर्षण चुलिएको हो ।
प्रतिक्रिया