काठमाडौं – पूर्ववर्ति प्रचण्ड सरकारले लगाएको प्रतिबन्ध विभिन्न शर्तहरु राखेर वर्तमान सरकारले फुकुवा गर्ने निर्णय गरेको छ । चिनियाँ सर्ट भिडियो एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएकाले प्रतिबन्ध फुकुवा गरेको उनले बताएका छन् ।
प्रतिबन्ध फुकुवा भएपनि नेपालमा सञ्चालनको लागि टिकटकले दर्जनौं शर्तहरु पालना गर्नुपर्ने छ। टिकटकमा प्रयोग हुने भाषाको नियमनका लागि अधिकारी तोक्नुपर्ने, नेपालको पर्यटन र डिजिटल शिक्षा तथा सुरक्षामा सहयोग गर्नुपर्ने, सरकारले सामाजिक सञ्जालहरूको नियमन गर्न बनाएको निर्देशिकाको पूर्ण पालन गर्नुपर्ने लगायतका दर्जनौं शर्तहरुको पालना गर्नुपर्ने छ।
अरु शर्तहरुमा नेपालमा नै टिकटकको सम्पर्क कार्यालय वा सम्पर्क व्यक्तिहरू तोक्नुपर्ने, नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने, समुदायस्तरमा सचेतना कार्यक्रम चलाउनुपर्ने, सामाजिक सद्भाव बिथोल्ने खालका सामग्रीहरू नेपालले अनुरोध गर्ने बित्तिकै हटाउने संयन्त्र बनाउनुपर्ने छ।
यसका साथै गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने पनि शर्त छ । त्यसबाहेक टिकटकले नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि समुदायस्तरमा सचेतना कार्यक्रम चलाउनुपर्ने छ ।
प्रतिक्रिया