काठमाडौं- ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने भएका छन् । अटो शोमार्फत चिनियाँ ब्रान्ड जोनसेन र अर्को प्रिमियम ब्रान्ड ट्रायम्फ पहिलोपटक औपचारिक रुपमा नेपाल भित्रिन लागेका हुन् ।
जोनसेनलाई ज्योती ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले ल्याउन लागेको हो भने ट्रायम्फलाई बजाज र केटिएम मोटरसाइकल बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले भित्र्याएको हो । ज्योती ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले यसअघि बिक्री गर्दै आएको हिरो ब्रान्डको डिलरशिप गुमाएपछि नयाँ ब्रान्ड भित्राउन लागेको हो । कम्पनीले यसअघि इलेक्ट्रिक वान स्कुटर समेत भित्राइसकेको छ ।
जोनसेन ब्रान्डको नेपाल आउने पहिलो मोटरसाइकल २५० सिसीको एड्भेन्चर मोडल हुने कम्पनीले जनाएको छ । यो मोटरसाइकलको फिचर र मूल्य लन्च भएपछि मात्रै सार्बजनिक गर्ने कम्पनीको तयारी छ । जोनसेन चिनको प्रख्यात टु–ह्विलर ब्रान्ड हो । चीनमा यसको ६ स्थानमा उत्पादन सुबिधा रहेको छ । स्यामुकापु ट्रेडिङले निकट भविष्यमा यसको एसेम्वल नेपालमै गर्ने समेत योजना बनाएको छ ।
अटो शोमा लन्च हुन लागेको अर्को नयाँ मोटरसाइकल ट्रायम्फ बेलायतको प्रिमियम टु–ह्विलर ब्रान्ड हो । हाल यसलाई भारतमा बजाज अटोले उत्पादन गर्दै आएको छ । नेपाली बजारमा ट्रायम्फको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स दुबै मोडल लन्च हुने तयारीमा छ । यी बाइकको मूल्य ८ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया