एक वर्षमा १० अर्ब २ करोड युनिट विद्युत् खपत

आइतबार, ०९ भदौ २०८१, १३ : ०७

काठमाडौँ- मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा १० अर्ब २ करोड युनिट पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरण अनुसार आठ वर्ष अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।

गत आवमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठ घण्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ को कात्तिकबाट काठमाडौँ उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरहरूका ग्राहस्थतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् ।

आव वर्षअघि विद्युत्‌का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि विद्युत् खपत बढेको बताए ।

‘ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यसअवधिमा उद्योगहरूको धैरे लोड स्वीकृत गरिएको छ,खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ जसका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ,’ घिसिङले भने ।nea-electricity-consumption

आइतबार, ०९ भदौ २०८१, १३ : ०७

प्रतिक्रिया