पोखराको 'हट एअर' बेलुन पुनः सञ्चालनमा

काठमाडौं-  मनसुनका कारण  कही महिना स्थगित भएको पोखराको 'हट एअर' बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। 'हट एअर' बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

कम्पनीले करिब ९ हजार फिटमाथिसम्म 'हट एअर' बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको  सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ। । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउनेछन् ।

पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले 'हट एअर' बेलुनमा उड्न सक्नेछन् ।

कम्पनीले ९ एन-एएमडब्लु कलसाइनको बेलुनमा पाइलट बाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलट बाहेक एक पटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ।

बेलुन नेपालले  आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ ।

कति लाग्छ शुल्क ?
'हट एअर' बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुइतर्फी यातायात सुबिधा, फोटो-भिडियो र प्रमाणपत्रसमेत पाइन्छ । पर्यटकले बेलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधासमेत रहेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया