पोखरा महानगर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिच सम्झौता

विहीबार, ०८ कार्तिक २०८१, १३ : ०७

काठमाडौँ - पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको खरिद मूल्यमा खरिद गर्नेछ। यसका लागि महानगरपालिकाले वास्तविक कृषक पहिचान र खरिद समितिले तोकेको परिमाणमा धान खरिद गर्न कृषकहरूलाई कुपन उपलब्ध गराउने छ। २०८२ आषाढ मसान्त सम्मका लागि गरिएको यो सम्झौता मुताबिक तत्काललाई स्थानीय रैथाने धान बाली जेठोबुढोको खरिद हुनेछ, भने आवश्यकता अनुसार अन्य रैथाने उत्पादनहरूको समेत खरिद गर्न सकिनेमा दुवै पक्षहरू सहमत छन्।

कृषकहरूले आफ्नो खेतमा उत्पादन भएको धान महानगरपालिकाले तोकेको स्थान वा कम्पनीको बिरौटा र पृथ्वीचोकमा रहेको गोदामसम्म आफैले ढुवानी गर्नु पर्नेछ। 

यस अघि महानगरपालिकाले जेठोबुढो धानलाई पोखराको पहिचानको रूपमा ब्राण्डिङ् गरी समर्थन मूल्य समेत तोकेर बजारीकरण गरिसकेको थियो। जेठोबुढो सहित अन्य ३५ प्रकारका कृषि उपजहरूको पनि समर्थन मूल्य तोकेर महानगरपालिकाले कृषकहरूका लागि न्यूनतम मुनाफा समेतको मूल्य सुनिश्चित गरेको छ। 

स्थानीय उत्पादन प्रवर्द्धन अभियान अन्तरगत कृषि उपजहरूको ब्राण्डिङ तथा बजारीकरण र रैथाने हाटबजार पनि सञ्चालन सञ्चालन गरिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताए। उनका अनुसार पोखरा महानगर क्षेत्रको करिब ४ हजार हेक्टर क्षेत्रफलमा जेठोबुढो लगाइएको छ भने, करिब १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।

महानगरपालिकाले तोकेको समर्थन मूल्यका आधारमा जेठोबुढो धान प्रतिक्विन्टल ९ हजार ५ सय रुपैयाँ र नेपाल खाद्य संस्थानले भने रु।१ हजार प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ। 

विहीबार, ०८ कार्तिक २०८१, १३ : ०७

प्रतिक्रिया