वीरगञ्जबाट हुने चारपांग्रे सवारीसाधनको आयात घट्यो

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ५७

काठमाडौँ - गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपांग्रे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ। 

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन्। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले  घटेको देखिन्छ। सोही अवधि राजस्व सं‍कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ। 

गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो। पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन्। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ।

चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ। 

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ। सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सं‍कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ। जब कि गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो।

चालु आवको तीन महिनाको अवधिमा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ। जब कि गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ।

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ५७

प्रतिक्रिया