लुम्बिनी केबलकारमा १७ महिनामा ३ लाख पर्यटक भित्रिए

शनिबार, १७ कार्तिक २०८१, १८ : १७

काठमाडौँ - बुटवलको लुम्बिनी केबलकारमा १७ महिनामा ३ लाख पर्यटक भित्रिएका छन् । २०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको  लुम्बिनी केबलकारमा तीन लाख बढी पर्यटक आएका कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १७ महिनामा आन्तरिक पर्यटक २ लाख २४ हजार, भारत सहित सार्क मुलुकबाट २४ हजार २३५ जना, तेस्रो मुलुकका ११२ जना, बुटवल वडा नं ३ र पाल्पा तिनाउ –३ का ६ हजार ५६९ जना (टिकटमा ५० प्रतिशत छुट) तथा चाडपर्व लगायतको अफरमा सहुलियत टिकटमा ६१ हजार गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केबलकार चढेर वसन्तपुर पुगेका हुन् ।

केबलकारले दुई वटा स्थानीय तहलाई असोजसम्म १५ लाख २७ हजार ४३२ रुपैयाँका दरले ३० लाख ५४ हजार ८ सय ६७ रुपैयाँ कर तिरेको समेत कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले तिनाउ गाउँपालिकालाई मनोरञ्जन कर बापत एक लाख ३ हजार ६२५ रुपैयाँ तिरेको छ ।

अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

शनिबार, १७ कार्तिक २०८१, १८ : १७

प्रतिक्रिया