स्थानीय जातका गाई संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष

बुधबार, २१ कार्तिक २०८१, ११ : २०

काठमाडौँ- स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको अक्षयकोष स्थापना गरिएको छ ।  चितवनको भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । 

अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन  भएको गौ संरक्षण केन्द्रका संयोजक ढकालले जानकारी दिए ।

गौ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको केन्द्रले जनाएको छ । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले  योगी नरहरिनाथले उक्त केन्द्रको स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

बुधबार, २१ कार्तिक २०८१, ११ : २०

प्रतिक्रिया