नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

बुधबार, २१ कार्तिक २०८१, १६ : १८

काठमाडौँ- सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ।

शर्ट भिडियो प्लेटफर्मको दर्ता प्रक्रिया तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता गरिएको हो। टिकटक औपचारिकरूपमा सूचीकृत भएको छ। टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको छ।

मन्त्रालयका अनुसार टिकटकले गत असोजको चौथो हप्ता अर्थात् दशैंको ठिक अगाडि नेपाल सरकारको शर्त र कानूनी व्यवस्था अनुरुप दर्ता हुनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आवेदन दिएको थियो।

टिकटकले नेपालमा साइबर अपराधको अनुसन्धान र जनचेतना अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाएको भने नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो। तर करिब साढे नौ महिनापछि वर्तमान सरकारले २०८१ भदौ ६ मा मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो।

बुधबार, २१ कार्तिक २०८१, १६ : १८

प्रतिक्रिया