तिलिचो तालको बेसक्याम्पमा पुग्यो बिजुली

आइतबार, २५ कार्तिक २०८१, १३ : २०

काठमाडौँ- तिलिचो तालको बेसक्याम्पमा बिजुली पुगेको छ । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प)मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो।


समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति सुरु गरिएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  
    
उक्त बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेसक्याम्पमा विद्युतका ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।
    
ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्षले सौर्य ऊर्जाको व्यापकले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए । “राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युतको प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ”, बेसक्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएको वडाध्यक्षले बताएको छ ।

लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्णरुपमा कटौती गर्न सकिने उनको भनाइ छ । उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग हुने गरेको उल्लेख गरेका छन् ।

केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको स्रोतले जनाएको छ । 

आइतबार, २५ कार्तिक २०८१, १३ : २०

प्रतिक्रिया