काठमाडौँ- धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयकाले बताएको छ ।
भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको स्रोतले उल्लेख गरेको छ ।
प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँ गाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको कार्यालयले बताएको छ । कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।
धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानलाई सहजीकरण गरेको हो । किसानबाट माटो नभएको, भुस, पराल नभएको, नभिजेको गुणस्तरीय धान कम्पनीले खरिद गरिरहेको छ । कम्पनीको शाखा कार्यालयले खरिद गरेको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ ।
प्रतिक्रिया