एनवाईईएफद्वारा 'एनवाईईएफ कनेक्ट' शुभारम्भ

सोमबार, २६ कार्तिक २०८१, १७ : ३४

काठमाडौँ - नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले कात्तिक २३ गते काठमाडौँमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । 

सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरक फरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरूको विभिन्न समूह, पूर्व सदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्व अध्यक्षहरूलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवर्द्धन गरेको छ । 

एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरूलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवर्द्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढवा दिनु हो । 

प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रूपमा सहभागी थिए ।  

समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति-पूर्व अध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरूको जोसिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत ११० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो । 

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रूपान्तरणकारी प्लेटफर्मको रूपमा रहेको छ । 

यो प्लेटफर्म उद्यमीहरूलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभालाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवर्द्धन गर्न प्रतिबद्ध छ । 

सोमबार, २६ कार्तिक २०८१, १७ : ३४

प्रतिक्रिया