काठमाडौँ- बाँकेमा कोदो खेतीको सफल परीक्षण भएको छ । सामुदायिक जिन बैंक सञ्जालले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ ।
पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो । सामुदायिक जिन बैंक सञ्जालका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो ।
स्रोतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् । “नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो । रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको स्रोतको भनाई छ ।
जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिक्रिया