जब वडाले नै ६५ जना दलितलाई सामुहिक रुपमा देखायो ‘पूर्णबहादुरको सारंगी’

बुधबार, २८ कार्तिक २०८१, १४ : ४२

काठमाडौं -एउटा बाबुले छोराको लागि गरेको संघर्षको कथा रहेको चलचित्र  ‘पूर्णबहादुरको सारंगी’ अहिले पनि चर्चामा छ । कारुणिक अभिनय रहेको उक्त सामाजिक चलचित्रमा दलित समुदायको एउटा पात्रले गरेको कठोर संघर्षले दर्शकहरुलाई रुवाउने गरेको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. ११ ले  ६५ जना दलितलाई ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेराएपछि झन ठूलो चर्चा भएको छ । चलचित्रमा भएको कथावस्तुको माध्यमबाट दलित समुदायको सशक्तिकरण गर्ने उद्देश्यले वडाकै लगानीमा टिकट काटेर फिलिम हेर्न व्यवस्था मिलाएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिएका छन् ।  वडाले दाङको नारायणपुर स्थित भिएफएक्स हलमा केही दिन यतादेखि चलिरहेको ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेर्नका लागि टिकटको व्यवस्था, आउनजानका लागि यातायात र नास्ताको समेत व्यवस्था गरेको थियो । 

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र  एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले पनि वडाका दलित समुदाय सचेतना दिनलाई वडाले चलिचत्र देखाएकाएकाे हाे । 

चलचित्रले परम्परागत सोचको सीमा चिरेर नयाँ दृष्टिकोण दिने प्रयत्न गरेको बताउँदै वडा अध्यक्ष रावतले दलित सशक्तिकरणका लागि वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताए । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूर्णबहादुरको सारंगी’ चलचित्र हेर्नको लागि वडाले यो अवसर प्रदान गरेको हो । उनीहरुको जीवनसंग मेल खाने कथावस्तु समेटीएको पूर्णबहादुरको सारङ्गी फिलिम हेर्नका लागि यति ठूलो संख्यामा दलित समुदायलाई संगै राखेर फिलिम देखाउने तुलसीपुर –११ नम्बर वडा संभवत  देशमै पहिलो वडा हो ।

बुधबार, २८ कार्तिक २०८१, १४ : ४२

प्रतिक्रिया