११ जनाको ज्यान गइसकेको डेंगु संक्रमणबाट यस वर्ष २२ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । डेंगु संक्रमण मुलुकका ७६ जिल्लामा फैलिएको छ । डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा हरेक वर्ष डेंगु संक्रमणको जोखिम मोलिरहनु परेको छ ।
डेंगु संक्रमण गराउने लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि समयमै अपनाएको भए यो स्थिति आउने थिएन । लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाउँदा नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको हो । विज्ञहरूका अनुसार फगिङले घरबाहिर रहेका लामखुट्टेलाई मात्र मार्न सक्छ । फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले फगिङ प्रभावकारी नहुने विज्ञहरूको सुझाव छ । एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा पाँच सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने हजारौं लामखुट्टे उत्पादन हुन्छन् ।
स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेको छ । त्यसैले पनि केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै प्रभावकारी पहल भएको छैन । स्थानीय, प्रदेशमात्र होइन संघीय सरकार पनि खोज र नष्ट गर्ने अभियानलाई निरन्तरता दिन नसक्दा डेंगु नियन्त्रण हुन नसकेको हो । डेंगुको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने जरुरी छ । डेंगु फैलनि नदिन लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घरवरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनु पर्छ ।
प्रतिक्रिया