सुर्खेतमा झण्डै १० करोडमा मानव सेवा आश्रमको भवन बनाइने

विहीबार, २९ कार्तिक २०८१, १५ : १४

काठमाडौं - आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि सुर्खेतमा आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म महायज्ञ आयोजना गरिएको छ ।

 वीरेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिने उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने छन् ।

आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा दिएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार त्यहाँ भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

आश्रमको भवन निर्माणका लागि ८ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव छैन । समाजको पुँजी पनि यसमा लाग्नुपर्छ’, बिहीबार महायज्ञबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले भने, ‘हामीलाई पैसा मात्र होइन, सेवा गर्ने हातहरू पनि चाहिएको छ । सबै कर्णालीवासीलाई जोडिन आग्रह छ ।’


२०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म ४०६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ ।

विहीबार, २९ कार्तिक २०८१, १५ : १४

प्रतिक्रिया