काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर) को प्रतिनिधि मण्डल साताव्यापी भ्रमणको क्रममा काठमाडौँ आइपुगेको छ ।
रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर)का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोबिचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलले नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभागले जनाएको छ ।
साथै, प्रतिनिधि मण्डलले अन्य कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग समेत भेटघाट गर्नेछ । उक्त प्रतिनिधि मण्डल मङ्सिर १ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एक दिवसीय गोष्ठीमा सहभागी हुने छन् । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्नेछ ।
प्रतिनिधि मण्डलले पर्यटकीय नगरी पोखराको दुई दिने भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा प्रतिनिधि मण्डलले कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ । प्रतिनिधि मण्डल मङ्सिर ५ गते मस्को फर्कनेछ ।
प्रतिक्रिया