दर्शक रुवाउने फिल्मले निर्मातालाई हँसायाे, नेपाली चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को नयाँ रेकर्ड

आइतबार, ०२ मंसिर २०८१, ०८ : २१

काठमाडौं- रुवाउने फिल्मका रूपमा लोकप्रियता कमाएको फिल्म पूर्णबहादुरको सारंगीले तेस्रो साताको प्रदर्शनमा पनि देशभर हाउसफुल व्यापार गरिरहेको छ।

पूर्णबहादुरको सारंगीको हिजो शनिबार देशभरका अधिकांश शोसमेत हाउसफुल भए। गतकात्तिक १५ गते रिलजमा आएको फिल्मले १६औँ दिनसम्म पुग्दा नेपालमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाएको छ। फिल्मले रिलिजको १५औँ दिनसम्म करिब ३० करोड ग्रस कलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी गराएका छन्।

एकै दिनमा सर्वाधिक कमाउने नेपाली फिल्मसमेत बन्न सफल पूर्णबहादुरको सारंगीले सर्वाधिक कलेक्सन गर्ने फिल्मका रूपमा मात्र इतिहास बनाएन, यसले सर्वाधिक शो पाउने फिल्मको रेकर्डसमेत बनायो। अहिले पनि मुलुकका कम्तिमा तीन सय ५०भन्दा धेरै शो फिल्मले पाएको छ।

यस्तै, फिल्मले नेपालमा मात्रै नभई ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ। विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली फिल्मको रेकर्ड पूर्णबहादुरको सारंगीले हाँसिल गरेकाे छ। साथै,ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने फिल्मसमेत बनेको छ। ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन। यस फिल्ममार्फत हामीले विदेशी फिल्मसँग डराउनुपर्ने अवस्थाको समेत अन्त्य गरेका छौँ। नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँहरूले नेपाली फिल्लाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ,’ निर्माता पौडेलको भनाइ छ।


नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि यसको निर्माण समूह जिल्ला भ्रमणमा निस्किएको छ। यो भ्रमणमा निर्माताहरूसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन्। यही भ्रमणका क्रममा गलत व्यापारिक रिपोर्ट दिएको पाएपछि जिल्लाका १९ हलमा शनिबारबाट फिल्मको शो बन्द गरिएको फिल्म निर्माण कम्पनी सेभेन सिस सिनेमाले जानकारी गराएको छ। शोमा हाउसफूल अकुपेन्सी ए पनि हलहरूले निर्माण पक्षलाई निकै कम ग्रस कलेक्सनको रिपोर्ट दिएका कारण निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल विराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सिवी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेस्ट हल राजगढ, धनकुटा हल धनकुटा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा शनिबारदेखि फिल्म प्रदर्शन रोकको जनाएको छ।

आइतबार, ०२ मंसिर २०८१, ०८ : २१

प्रतिक्रिया