उत्कृष्ट करदाताको रूपमा तारा गाउँ रिजेन्सी होटल्स सम्मानित

सोमबार, ०३ मंसिर २०८१, १५ : २२

काठमाडौँ- पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा तारा गाउँ रिजेन्सी होटल्स सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको हो ।


काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठुलो उक्त होटेललाई आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । होटेल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रूपमा पटक-पटक सम्मानित भइसकेको छ ।

नेपाली कला र शैली झल्काउने गरी तारा गाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटेलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा `हाइ इन्ड´ पर्यटकमार्फत महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् ।

दश बर्से द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटेल द्वन्द्व चरम उत्कर्षमा रहेको समयमा सन् २००० बाट सञ्चालनमा आएको थियो ।अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबिच होटेलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो ।

होटेलले यसअघि आर्थिक वर्ष २०७१/७२,२०७३/७४, २०७४/७५ , २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ । साथै होटेललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गरेबापत विसं २०७६ मा सम्मानित गरेको थियो ।

सोमबार, ०३ मंसिर २०८१, १५ : २२

प्रतिक्रिया