अर्घाखाँची सिमेन्टद्वारा अवैधरुपमा चुनढुंगा उत्खनन, अदालतमा मुद्दा

मंगलबार, ०४ मंसिर २०८१, १३ : ०६

काठमाडौं- अवैध चुनढुंगा उत्खनन गरेको आरोपमा अर्घाखाँची सिमेन्ट कम्पनीका सञ्चालकहरु विरुद्ध मुद्दा परेको छ ।अर्घाखाँची सिमेन्ट कम्पनीका सञ्चालक लगायत सोही कम्पनीमा चुनढुंगा आपूर्ति गर्दै आइरहेको सिद्धार्थ मिनिरल्स विरुद्ध जिल्ला अदालत पाल्पामा मुद्दा दायर गरिएको हो ।  

रुपन्देहीमा उद्योग रहेको अर्घाखाँची सिमेन्टले पाल्पाको वन क्षेत्रमा अवैध रुपमा चुनढुंगा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय पाल्पाले मुद्दा दायर गरेको हो ।

जिल्ला अदालतमा कात्तिक २३ गते अध्यक्ष पशुपति मुरारकासहित सञ्चालकहरु जगदिश कुमार अग्रवाल, राजेश कुमार अग्रवाल, विनोद कुमार श्रेष्ठ र मनोज कुमार केडियाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

डिभिजन वन कार्यालयले वन क्षेत्रमा अवैध तवरले चुनढुंगा उत्खनन, वन क्षेत्र अतिक्रमण गरी वन पैदावार ओसार पसार र बिक्री वितरण गरेको आरोप लगाउँदै अर्घाखाँची सिमेन्टका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकै दिन अदालतमा उपस्थित भएर अध्यक्ष मुरारकाले चार लाख धरौटी बुझाएर छुटेको र अन्य सञ्चालक जगदिश कुमार अग्रवाल, राजेशकुमार अग्रवाल  र विनोदकुमार श्रेष्ठको आज(मंगलबार) बयान लिने क्रम चलिरहेको पाल्पा जिल्ला अदालतका इजलाश अधिकृत रामचन्द्र खनालले जानकारी दिए ।

अध्यक्ष मुरारकासहित अन्यको बयान यस अघि लिइसकेको र अर्का प्रतिवादी बनाइएका सञ्चालक मनोजकुमार केडिया र चुनढुंगा आपूर्ति गर्ने सिद्धार्थ मिनिरल्सका प्रतिनिधि भने आज बयानका लागि अदालतमा उपस्थित नभएको उनले बताए । 

अर्घाखाँची सिमेन्टलाई चुनढुंगा आपूर्ति गर्दै आएको सिद्धार्थ मिनिरल्सले पाल्पाको तिनाउ गाउँपालिका ३ को श्रीडाँडामा खानी चलाइरहेको छ । 
पाँच हेक्टर क्षेत्रफलमा चुनढुंगा उत्खननको अनुमति लिएर वन क्षेत्र अतिक्रमण गरी त्यहाँ सात हेक्टर क्षेत्रफलमा अर्घाखाँची सिमेन्टले खानी चलाएको डिभिजन वन कार्यालयले आरोप लगाएको छ ।  

मंगलबार, ०४ मंसिर २०८१, १३ : ०६

प्रतिक्रिया