पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दै, जलविद्युत र अन्य कम्पनीको बढ्दै

मंगलबार, ०४ मंसिर २०८१, १४ : ५७

काठमाडौं- पछिल्लो समय पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै गएको छ । ठुला उत्पादनमूलक कम्पनी सूचिकृत नहुने र भएको पनि बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्जर हुँदा वित्तीय संस्थाको पुँजी बजारमा हिस्सा घट्दै गएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा समूहको धितोपत्र शेयर हिस्सा ५९.२ प्रतिशत रहेको छ । त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा बैंक तथा वित्तीय संस्थाको हिस्सा ६७.४ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ६४ प्रतिशतमा खुम्चिएको छ । जसमा वाणिज्य बैंकको हाल पूँजी बजारमा शेयर हिस्सा २५.७ प्रतिशत छ । आव २०७७/०७८ मा ३५ प्रतिशत र त्योभन्दा अघि ३६.८ प्रतिशत हिस्सा थियो। विकास बैंक समूहको भने शेयर हिस्सा बिस्तारै बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। विकास बैंकको शेयर हिस्सा अहिले ४.८ प्रतिशत पुगेको छ । यस अघिको दुई आर्थिक वर्षमा ४.५ प्रतिशत र ४.६ प्रतिशत थियो ।

त्यस्तै वित्त समूहको शेयर हिस्सा पनि सामान्य बढेको देखिन्छ । हाल यस समूहको पूँजीबजारमा शेयर हिस्सा २.२ प्रतिशत छ । यस अघिको दुई आर्थिक वर्षमा यस समूहको शेयर हिस्सा  क्रमशः ः १.७ र १.८ थियो । त्यस्तै  लघुवित्त समूहको पनि धितोपत्र बजारमा शेयर हिस्सा घट्दै गएको छ । यस समूहको हालको  हिस्सा १० प्रतिशत छ । यसका अघिका दुई आर्थिक वर्षमा १०.७ प्रतिशत थियो । आव २०७८/०७९ मा घटेर ९.२ प्रतिशतमा झरेको थियो । बिमा समूहको शेयर हिस्सा भने बढ्दै गएको छ । हाल यस समूहको शेयर हिस्सा १५.७ प्रतिशत  छ । दुई आर्थिक वर्षमा १३.७ र १३.६ प्रतिशत थियो ।

त्यस्तै पछिल्लो समय उत्पादनमूलक समूह, होटल समूह,ट्रेडिङ समूह, लगानीगत समूह,जलविद्युत र अन्य समूहको शेयर हिस्सा बढ्दै गएको छ । उत्पादन मूलक समूहको ६.८ प्रतिशत, होटलको समूहको २.९, ट्रेडिङ समूहको ०.५, लगानी समूहको ७.३, जलविद्युतको १४.४ र अन्यको ९.८ प्रतिशत छ । यसअघि समूहको शेयर हिस्सामा जलविद्युत समूहको  १०.५ प्रतिशत, अघिल्लो वर्ष १३.८ प्रतिशत थियो ।त्यस्तै,उत्पादनमूलक समूहको पनि ४ प्रतिशत हुँदै अघिल्लो वर्ष ४.५ प्रतिशतबाट बढेको छ । लगानी ग समूहको यसअघि दुई  आर्थिक वर्षमै ७ प्रतिशत थियो । त्यस्तै ट्रेडिङ समूहको ०.३ प्रतिशत अघिल्लो वर्षमा आइपुग्दा ०.५ प्रतिशत प्रतिशत पुगेको हो ।

किन घट्दै छ  बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा ?

लगानीकर्ता देव गुरागाईँले पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा घट्नुको  मुख्य कारण बैंक तथा वित्तीय संस्था मर्जर हुँदै जानु र जलविद्युत लगायतका कम्पनीको सार्वजनिक निष्कासन मार्फत पुँजी थपिँदै जानलाई प्रमुख कारण मानेका छन् ।  

उनले भने,‘ अहिले बैंक तथा वित्तीय संस्थाको घट्दो गतिमा छ भने जलविद्युतलगायतका कम्पनीको शेयर हिस्सा बढ्दो गतिमा छ, जसले गर्दा यस्तो देखिएको हो ।’

लघुवित्त, वित्त कम्पनीको शेयर हिस्सा बिस्तारै घट्दै छ । यही क्रम जारी रहेमा आगामी  पाँच/ सात वर्षमा बैंक तथा वित्तीय संस्थाको पुँजीको हिस्सालाई जित्ने उनको भनाइ छ ।  जलविद्युत लगायत र अरू क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटेको हो ।

मंगलबार, ०४ मंसिर २०८१, १४ : ५७

प्रतिक्रिया