काठमाडौँ - दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उनले यो पेसा गर्न थालेको आठ वर्ष भएको छ । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी छन् ।
सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उनीसँग अनुभव छ । “पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन ।” इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभइ अघिपछि पनि सयपत्रीको फूल फूलिरहेको हुन्छ । जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उनले बताए ।
उनी यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु.पाँच लाख बचत गर्न सफल भएका छन् । आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएकोे र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताए । फूलमाला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उनले बताए। उनले फूलखेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताए ।
उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आएका छन् । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेषगरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ”, उनले भने । यसपटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उनको छ । लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूलखेती राम्रो हुँदै गएको उनले बताए । यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताए।
“स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन”, उनले भने, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए।
इन्द्रा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताउछन् । आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उनी बताउछन् । सरकारी स्तरबाट पनि फूलखेती गर्न चाहाने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उनले बताए ।
साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उनले बताए । पहिलेको तूलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उनको भनाइ छ ।रासस
प्रतिक्रिया