कात्तिकसम्ममा ४.१६ प्रतिशतले बढ्यो निर्यात

शनिबार, ०८ मंसिर २०८१, ११ : ४३

काठमाडौं - चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको भन्सार विभागको तथ्यांकले ४.१६ प्रतिशतले निर्यात बढेको देखाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५० अर्ब ५६ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । चालु वर्ष ५२ अर्ब ६७ करोड बराबरको वस्तु निर्यात भएको छ । निर्यात बढेसँगै देशको व्यापार घाटामा पनि सुधार देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा देशको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।अघिल्लो वर्ष ४ खर्ब ६१ अर्ब ९३ करोडको व्यापार घाटा देखिएको थियो । चालु वर्षमा ४ खर्ब ६० अर्ब ७१ करोड बराबर देशको व्यापार घाटा रहेको छ । यसैगरी गत वर्षको तुलनामा यस वर्ष आयात पनि बढेको छ । चालु वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो । त्यसैले अघिल्लो वर्षको तुलनामा ०.१७ प्रतिशतले निर्यात बढेको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोेड बराबरको वैदेशिक व्यापार भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ६३  अर्ब ६ करोड बराबरको वस्तु व्यापार भएको थियो । जसअनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ०।५३ प्रतिशतले कुल वैदेशिक व्यापारमा सुधार देखिएको छ । 

शनिबार, ०८ मंसिर २०८१, ११ : ४३

प्रतिक्रिया