चाइल्डसेफनेट र टिकटकबीच सहकार्य

आइतबार, ०९ मंसिर २०८१, ०९ : ३७

काठमाडौँ- बालबालिका र युवाहरुको डिजिटल सुरक्षाको लागि चाइल्डसेफनेटले टिकटकसंग सहकार्य शुरु गरेको छ । सहकार्यको पहिलो चरणमा बागमती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावकहरू र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने छ ।
 
यसै क्रममा चाइल्डसेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरेको थियो । मंसिर ७ गते ललितपुरमा सम्पन्न भएको उक्त कार्यशालाले २० विद्यालय र कलेजका ४० भन्दा बढी सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरुबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
 
बाल तथा युवामैत्री विधि प्रयोग गरिएको उक्त अन्तरक्रियात्मक  कार्यशालामा सहभागीहरूले साइबर बुलिङ, घृणास्पद सामग्री (हेट स्पीच), भ्रामक र गलत सूचना (मिसरडिसइन्फर्मेसन), अनलाइन ग्रुमिङ, हानिकारक सामग्री (यौन र हिंसात्मक सामग्री) बारे छलफल गरे र तिनबाट सुरक्षित रहन सिके । साथै, उनीहरुले  सेक्स्टर्शन, रोमान्स स्क्याम र बाल यौन दुर्व्यवहाररशोषण सामग्री जस्ता अनलाइन यौन दुर्व्यवहार र शोषणबाट सुरक्षित रहन पनि जानकारी प्राप्त गरे ।
 
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशी ले युवाहरू र डिजिटल प्रविधिबीचको सम्बन्धबारे अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरे। डिजिटल उपकरणहरूको जिम्मेवार प्रयोग गर्नका लागि  सहभागीहरूले टिकटक र अन्य लोकप्रिय सामाजिक सञ्जालका सामुदायिक मापडण्ड र सुरक्षाबारे पनि जानकारी प्राप्त गरे ।
 
कार्यक्रमको एउटा मुख्य आकर्षण किशोररकिशोरीहरूबीच लोकप्रिय डिजटल सामग्री निर्माताहरूको सहभागीता रहेको प्यानल छलफल थियो। मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, फेसन डिजाइनर र डिजटल सामग्री निर्माता पराक्रम राणा, र अभिनेतारनर्तकी एन्जल राई ले आफ्ना डिजिटल यात्रा, विषाक्त टिप्पणीहरूको सामना गर्नु पर्दाको अनुभव, र यस्ता चुनौतीहरूको समाधानका लागि आफ्ना सुझावहरुबारे छलफल ग्रे ।
 
कार्यशालाबारे बोल्दै अनिल रघुवंशीले सरोकारवालाहरुले  बालबालिका र युवाहरूका लागि काम गरेर मात्र हैन, उनीहरुको विचार, आवश्यकता र भावना बुझेर काम गर्न उनीहरूसँगै सहकार्य गर्नु आवश्यक रहेको बताए । 
 
सहभागीहरुले बालबालिका तथा युवाका लागि डिजटल सुरक्षा प्रभावकारी बनाउन महत्त्वपूर्ण सुझावहरु दिए । सरकार, कानुन निर्माता, प्रहरी, स्कूल तथा कलेजहरु, डिजिटल प्लेटफर्महरू, व्यावसायिक संस्थाहरु, सामाजिक संस्थाहरु, अभिभावकहरूका साथै बालबालिका तथा  युवाहरूमा लक्षित ती सुझावहरुले डिजिटल सुरक्षाको लागि सहकार्य गर्न, कानुनी व्यवस्था सुधार गर्न, डिजिटल सुरक्षाबारे सचेतना देशैभरि फैलाउन जोड़ दिएको थियो । यसका लागि सरकार, डिजटल तथा प्रविधि कम्पनीहरु, शैक्षिक संस्थाहरु र सामाजिक संस्थाहरुले लगानी बढाउनु पर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए ।
 
टिकटकको सामुदायिक साझेदार च्यानलको रूपमा, चाइल्डसेफनेटले टिकटकमा हुन सक्ने बाल दुर्व्यवहारका घटनाहरु टिकटकमा पठाउने छ ।

आइतबार, ०९ मंसिर २०८१, ०९ : ३७

प्रतिक्रिया