कतारमा हुने विश्वकपमा ४८ टोली सहभागी नहुने: फिफा

४ बर्ष अगाडि

विश्व फुटबलको प्रशासनिक निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको छ। हाल विश्वकपमा ३२ टोली सहभागी हुन्छन् ।

सहभागी टोलीको संख्या बढाउन आवश्यक तयारीका लागि समय अपुग भएको फिफाले एक विज्ञप्तिमार्फत जनाएको छ। धेरै टोली सहभागी भएको खण्डमा कतारले आयोजनाको जिम्मेदारी सो क्षेत्रका अन्य देशसँग पनि बाँड्नुपर्ने हुन्थ्यो।

सन् २०२६ को विश्वकपचाहिँ अमेरिका, क्यानडा तथा मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। त्यो प्रतियोगितामा पहिलोपटक ४८ टोली सहभागी हुनेछन्।

फिफा अध्यक्ष जानी इन्फान्टिनोले गत वर्ष ४८ टोली सहभागी गराएर आयोजना हुने विश्वकप सन् २०२६ को साटो सन् २०२२ मै गर्न सकिने बताएका थिए।

यसअघि सन् २०१७ को जनावरीमा फिफाले सन् २०२६ को विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने पक्षमा एकमतले निर्णय गरेको थियो।

अध्यक्ष इन्फान्टिनो धेरै टोली सहभागी गराउने विचारका प्रखर समर्थक हुन्। फुटबल समावेशी हुनुपर्ने उनको धारणा रहँदै आएको छ।

'हामी २१औं शताब्दीमा छौं र विश्वकप पनि २१औं शताब्दीअनुकूल हुनुपर्छ,' उनले भनेका थिए, 'यो नै भविष्य हो। फुटबल भनेको केवल युरोपेली वा दक्षिण अमेरिकी खेल होइन। यो विश्वव्यापी हो।'

४ बर्ष अगाडि

प्रतिक्रिया