फरक-फरक विधामा योगदान पुर्याउँने उत्कृष्ट ६ उद्यमी सम्मानित

सोमबार, १० मंसिर २०८१, ०७ : २४

काठमाडाैं- दशौँ उद्योग दिवसका अवसरमा नुवाकोटका उत्कृष्ट ६ उद्यमीलाई सम्मान गरिएको छ । विदुरस्थित उद्योग तथा वाणिज्य कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मनमैंजु इण्डष्ट्रिज विदुर–५ का अमृतप्रसाद दुवा, बागमती ग्याबिन बक्स उद्योग विदुर–९ का उपेन्द्र बुढाथोकी, लप्सी क्याण्डी उद्योग विदुर–१२ का ज्ञानु तामाङ, नमुन्चेत कृषि फर्म ककनी–२ का कान्छीमाया तामाङ, वाइबा कृषि फर्म म्यागङ–३ का प्रकाश तामाङ र जलेश्वर बाख्रा फर्म तादी–३ का रमेशकुमार बस्नेत सम्मानित भएका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रशंसापत्र र खादा ओढाएर उनिहरुलाई सम्मान गरे । उद्यमी छनोट गर्न गठिन समितिले उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका उद्यमीमध्येबाट फरक-फरक विधामा योगदान पुर्याउँदै आएकामध्ये उत्कृष्ट छनोट गरेर सिफारिस भएअनुसार उनीहरुलाई सम्मान गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनको अनुसार उद्यमीलाई गरिएको सम्मानबाट उद्योग क्षेत्रमा विकास, वृद्धि र थप लगानीको लागी आकर्षण बढाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

कार्यालयले दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका विभिन्न ५० जना उद्यमी तथा उद्योगले उत्पादन गरेका पाँच सयभन्दा बढी सामग्रीको बिक्री एवं प्रदर्शनी समेत सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय कृषि उब्जनी र हस्तकलाबाट निर्मित सामग्री रहेका छन् ।

सोमबार, १० मंसिर २०८१, ०७ : २४

प्रतिक्रिया