१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौंमा सुरु

सोमबार, १० मंसिर २०८१, १३ : ०१

काठमाडौं - १५ औ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौंमा सुरु भएको छ । 

नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

सबै कृषिजन्य बालीहरूको उत्पादनको आधारभूत स्रोत बिउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए। आलु तथा मसाला बाली क्षेत्रको विकासको लागी सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरेका छन्। 

नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।

दुई दिन सम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू,विज्ञ, तरकारी बिउ उत्पादकहरू र कृषकहरूको सहभागिता रहेको छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मुल्य श्रृङ्खला, जलबायु परिवर्तन,जैविक विविधता,बीउ सम्बन्धी कानुनहरूका बारेमा छलफल हुने बताइएको छ ।

सोमबार, १० मंसिर २०८१, १३ : ०१

प्रतिक्रिया