नेक्सजेन म्यानेजमेन्ट र सामूदायिक रेडियो प्रसारक संघबीच सम्झौता

विहीबार, १३ मंसिर २०८१, १३ : २०

काठमाडौं - सामुदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा.लि. बीच सामुदायिक रेडियोहरूको व्यवस्थापन र वित्तीय सुदृढीकरणका लागि सम्झौता भएको छ।

मंसिर १३ गते ललितपुरको चाकुपाटस्थित संघको केन्द्रीय कार्यालयमा भएको सम्झौतामा संघका अध्यक्ष अर्जुन गिरी र नेक्सजेनका प्रबन्ध निर्देशक रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन्।

सम्झौताको उद्देश्य देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, वित्तीय स्रोत पहिचान गर्नु र प्रभावकारी रूपमा परिचालन गर्न सहकार्य गर्नु रहेको छ।

सामुदायिक रेडियो प्रसारक संघ गैरनाफामूलक सामुदायिक रेडियोहरूको छाता संस्था हो। संघको नेटवर्कमा ३५० भन्दा बढी सामुदायिक रेडियोहरू आबद्ध छन्। संघले सदस्य रेडियोहरूको सुसञ्चालन, वित्तीय स्रोत परिचालन, सूचना प्रवाह र विभिन्न तालिममार्फत सहयोग पुर्‍याउँदै आएको छ।

संघले आफ्नै सामुदायिक सूचना नेटवर्क र अनलाइन पोर्टल पनि सञ्चालन गर्दै आएको छ। संघले बिहान र बेलुका ३५० वटा रेडियोहरूमा समाचार प्रसारण गर्नुका साथै विभिन्न एनजिओ र आइएनजिओहरूसँग सहकार्य गरेर समुदाय लक्षित सूचना तथा जनचेतनामूलक सामग्री निर्माण र प्रसारण गर्दै आएको छ।

नेक्सजेन म्यानेजमेन्ट २०८१ साल वैशाखदेखि सञ्चालनमा रहेको कम्पनी हो। यसले सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्शका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। कम्पनीले छोटो समयमै देशी र विदेशी संस्थाहरूसँग सहकार्य गरेर सेवा विस्तार गरेको छ।

 

विहीबार, १३ मंसिर २०८१, १३ : २०

प्रतिक्रिया