काठमाडौं - बारामा आगामी मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने भएको छ ।
गढीमाई मेलाको अवसरमा बारामा कनेक्ट किसानको आयोजनामा ७ दिने कृषि एक्स्पो हुने भएको हो। ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुनेलाई र तराई क्षेत्रका कृषकलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।
किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ । आयोजकले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन् । जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन् ।
एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ । जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिने अवसर पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया